उनी आफ्नो पहिलो पुस्तकलाई एक समारोहबीच सार्वजनिक गराउन गइरहेका थिए । वर्षौंदेखिको उनको पुस्तक प्रकाशन गर्ने तिव्र इच्छालाई श्रीमतीले आफ्नै नाक, कानका गहना बेचेर पुरा गरिदिएकी थिइन् तर विमोचन समारोहमा आमन्त्रितहरूको उपस्थिति देखेर उनी बडो बेचैन बने ।
ट्याक्सी भाडा नदिएका कारण प्रमुख अतिथि नै कार्यक्रममा आइदिएनन् । अनि हतारहतारमा अलि पाकाखालका एक आमन्त्रितलाइ प्रमुख अतिथि बनाइयो । कार्यक्रमको औपचारिकता पूरा भएपछि प्रमुख अतिथिले आकर्षक जिल्ला खोलेर पुस्तक लोकार्पण गराए । यस्तो द्रिश्य देखेर लेखकका खुसीका आँसु झरे । यति खुसी त उनी प्रथम सन्तान जन्मदा पनि भएका थिएनन् रे । आफु छेउमै बसेकालाई खुसुक्क सुनाइहाले टिप्पणीकर्ताले पुस्तकका बारेमा बोल्न सुरू गरे । "पुस्तकको गाता पातलो भएको, छपाई राम्रो नभएको, आवरणकला पुस्तकको नामानुसार नभएको" भन्दै लेखकको झाँको झारे ।
पारिश्रमिक नपाएको झोँक टिप्पणीकर्ताले लेखकमाथि पोखेको कुरा प्राय: सबैले बुझिहाले । प्रमुख अतिथिको पालो आयो । "एउटा पुस्तक निकाल्दैमा साहित्यकार भंइदैन" भनेर लेखकलाइ ख्याँसे । अब विमोचित पुस्तक सवैका हातमा पुगिसकेको थियो । खासखुस चल्दाचल्दै कार्यक्रम सकियो ।
"हाम्रै घरपरिवारका कुरा लेखेर लेखक बन्ने" भन्दै आमन्त्रितहरूले नै त्यहीं लेखकको कठालो समाते । मलिन अनुहार लिएर लेखक घर फर्के । केहि दिनसम्म उनले हरेक अखवारका पाना पल्टाए । कतै आफ्नो पुस्तकका बारेमा समाचार, टिप्पणी वा समालोचना छापिएको छ कि भनेर । अंह त्यस्तो केही पाएनन् । त्यसबाट उनी झन निराश भए । यसैबीच अचानक एकदिन लेखकले आत्महत्या गरे । आजकल उनकी श्रीमती प्रत्येकदिन अखवारका पाना पल्टाउंछिन् कतै समवेदना सन्देश छापियो कि भनेर ।